.jpeg)
व्यापारमा सुधारका लागि संघर्ष गरिरहेको फिल्म ‘महाभोज’लाई सकारात्मक प्रतिक्रियाको भने ओइरो नै लागेको छ । दर्शकसँगै फिल्मकर्मीदेखि राजनीतिज्ञसम्मले फिल्म हेरेर कथावस्तु र प्रस्तुतिको प्रशंसा गरिरहेका छन् । बुधबार दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले पनि फिल्म हेरेका थिए । उनीहरुबाट पनि फिल्मको प्रशंसा टुटेन ।
न्यौपानेले ‘महाभोज’लाई ‘यो समयको कथा बोकेको फिल्म’को संज्ञा दिए । समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई फिल्मले सशक्त रूपमा प्रस्तुत गरेको धारणा व्यक्त गर्दै उनले भने, ‘यतिबेला धेरै सहकारी बेकारी बनेका छन् । त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ । पीडितहरू किसान, मजदुर र श्रमजीवी वर्ग छन् भने पीडकहरू हुने खानेहरू छन् ।’
उनले फिल्ममा मानिसका कथा-व्यथालाई सहकारी घोटालासँग जोडेर प्रस्तुत गरिएको र कथा सलल बगेको बताए । अभिनय र निर्देशकीय पक्ष सबल रहेको टिप्पणी गर्दै उनले फिल्म हेरेपछि देशमा कानुनको कमजोरी र बल प्रयोग गरेर मात्र न्याय खोज्नुपर्ने परिस्थितिको चित्रणप्रति दुःख व्यक्त गरे । तर, यो कमजोरी फिल्मको नभइ नियम-कानुनको रहेको उनको तर्क छ ।
अर्का मदन पुरस्कार विजेता विवेक ओझाले ‘महाभोज’मा प्रत्येक कलाकारको अभिनय निकै बलियो लागेको बताए । उनका अनुसार दुई घण्टा अवधिको फिल्मले समाज, परिवार र व्यक्तिगत मनोभावना तथा मनोविज्ञानलाई निकै मसिनो गरी केलाउन सफल भएको छ । उनले फिल्मले दर्शकलाई निराश नबनाउने समेत दाबी गरे ।
‘यसमा समाजको र कानुनको चरित्रबिचको द्वन्द्व, कानुनी छिद्र र विश्वासको दुरुपयोग, अनि कसरी मान्छे कानुनी र सामाजिक रूपमा सबथोक गुमाएर लाचार र विकल्पविहीन हुन पुग्छ भन्ने जस्ता विषयहरूलाई मिहिन तवरले प्रस्तुत गरिएको छ । कथाले दर्शकलाई तानिरहन्छ । फिल्मले निराश पार्दैन,’ उनले भने ।
दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन तथा हिमाल कडरियाको निर्माण रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला, विनोद न्यौपाने लगायतको अभिनय छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ बलियो मिलेकाले फिल्मको व्यापारमा विस्तारै बढोत्तरी हुने अपेक्षा निर्माण टिमको छ ।

