Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ २’मा केकी र आँचल दोहोरिने निश्चित

फिल्मीखबर, काठमाडौं, 2025/06/19

Keki Adhikari, Aanchal Sharma

 

२०७९ सालको सफल फिल्म हो, ‘झिँगेदाउ’ । रिलिजअघि नजरअन्दाज गरिएको यो फिल्मले पहिलो साताको अन्त्यबाट व्यापारिक गति ह्वात्तै बढाएको थियो । फिल्मको पारिवारिक कथावस्तु र कमेडी पक्षले दर्शकलाई हलसम्म तानेको थियो । अब यसको सिक्वेल (दोस्रो पार्ट) बनाउने तयारीमा निर्देशक ज्ञानेन्द्र देउजा जुटेका छन् । त्यसका लागि अहिले कलाकार छनोटको काम भइरहेको छ ।

सिक्वेलमा अघिल्लो श्रृंखलाकै ५/६ जना कलाकार दोहोरिँदैछन् । त्यसमध्ये ‘झिँगेदाउ’मा झगडालु बुहारीको भूमिकामा अभिनय गरेका अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मा अनुबन्धित भएका छन् । फिल्मका निर्माता समेत रहेका निर्देशक देउजाले यसै साता दुवैसँग लिखित सम्झौता गरेका हुन् । मुकुन भुसाल, कुशल विष्ट लगायत पनि फिल्ममा दोहोरिने निश्चित भइसकेको छ ।

‘झिँगेदाउ २’मा अहिलेका चल्तीका दुईजना कलाकारलाई पनि भित्र्याउने तयारीमा निर्देशक देउजा छन् । त्यसका लागि केही कलाकारसँग कुरा भइरहेको उनले बताए । तर, अहिले कलाकारको सेड्युल मिलाउनै सबैभन्दा गाह्रो रहेको उनको भनाइ छ । यो वर्ष फिल्म निर्माणको चाप निकै बढेकाले चल्तीका अधिकांश कलाकारको समय लिनै नसकिने अवस्था रहेको उनको अनुभव छ ।

विवाहपछि दुई छोराबीचको झगडाका कारण आमा निराश भएर वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’लाई विट मारिएको थियो । त्यहीँबाट सिक्वेलको कथा उठान हुने निर्देशक देउजाले बताए । उनका अनुसार फिल्म ग्रामीण परिवेशमा नै निर्माण हुनेछ । पुराना शैलीका घर र त्यसअनुरूपको परिवेश देखाउन बजेट भने ठूलो लाग्ने उनको अनुमान छ । यस फिल्ममा महेश दवाडीको लेखन रहेको छ ।