मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाभोज’ हेरेपछि के भन्छन् सेलिब्रेटीहरू ?

फिल्मीखबर, काठमाडौं, 2025/06/17

Mahabhoj review

 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । यद्यपि, दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । सहकारी ठगीजस्तो संवेदनशील विषय र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले प्रशंसा गरेका छन् । यो किसिमको प्रतिक्रियाले फिल्मको व्यापारमा विस्तारै बढोत्तरी हुने अपेक्षा गरिएको छ । 

यसैबीच, सोमबार साँझ काठमाडौंमा फिल्मकर्मी, साहित्यकार र अन्य क्षेत्रका व्यक्तिहरूले ‘महाभोज’ हेरेका छन् । विशेष शोमा कलाकारहरु हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बू, निर्देशकहरु तुलसी घिमिरे, प्रदीप भट्टराई, नवीन चौहान, साहित्यकार अमर न्यौपाने, राजनीतिक विश्लेषक मुमाराम खनाल लगायतको उपस्थिति थियो । 

फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तुको प्रशंसा गरे । साहित्यकार अमर न्यौपानेले फिल्मले कानुनी राज्यको चुनौतीमाथि प्रश्न उठाएको बताए । देशमा गणतन्त्र आइसक्दा पनि सहकारी पीडितहरूलाई न्याय दिन कानुनले काम नगरेको धारणा व्यक्त गर्दै उनले भने, ‘यत्रो ठूलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल नै प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो फिल्मले गर्छ ।’

कलाकार हरिवंश आचार्यले फिल्मले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । ‘जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताले कसरी अपचलन गरेका छन् भनेर फिल्ममा राम्रोसँग देखाइएको छ,’ उनले भने । 

अर्का कलाकार सरोज खनालले फिल्मको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, ‘गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठूलो हत्यारा हुन्छ भन्ने सन्देश नै ‘महाभोज’ ले दिएको सबैभन्दा ठूलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो फिल्मले झकझक्याउँछ ।’

कलाकार जितु नेपालले फिल्मको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । उनले फिल्म रमाइलो पनि रहेको बताए । अभिनेत्री परीक्षा लिम्बूले फिल्मले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । निर्देशक नवीन चौहानले ‘महाभोज’का निर्देशक दिनेश राउतको कार्यको उच्च प्रशंसा गरे । 

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतको अभिनय छ । सहकारी पीडितको कथा समावेश गरिएको यो फिल्मका निर्माता हिमाल कडरिया हुन् ।