यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को तीनवटा अमेरिकी सहरमा विशेष प्रदर्शनी गरिएको छ । कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा फिल्म हेर्ने नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सोमबार बेलुका पिट्सबर्गमा भएको शोमा कतिले हलमा सिट नपाउँदा उभिएर समेत फिल्म हेरेका थिए ।
फिल्मलाई अमेरिका प्रदर्शनमा सुखद् प्रतिक्रिया मिलेको छ । नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्छ र नेपालीहरुबीच मजबुत एकता हुनुपर्छ भन्ने सन्देश फिल्मले दिएको प्रायःको धारणा थियो । कतिपयले आफ्नै भोगाइ पर्दामा आएकोमा खुसी व्यक्त गर्दै फिल्म हेरिरहँदा भावुक भएको बताएका थिए । अमेरिकामा फिल्मलाई प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।
मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, नारायण खाती, आयुषा समाल, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतले अभिनय गरेका छन् । नेपाली भाषा, साहित्य, परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि फिल्म बनाएको निर्देशक प्रधानको भनाइ छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । यसमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन छ ।