मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदर्शनले प्रदीपलाई लिएर ‘शुभ विवाह’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2025/06/17

 

‘प्रेमगीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच एकपटक फेरि सहकार्य हुँदैछ । गत वर्ष सुदर्शनले आफ्नो नयाँ फिल्मका लागि प्रदीपसँग लिखित सम्झौता गरेका थिए । तर, फिल्मको नाम सार्वजनिक गरिएको थिएन । यसै साता निर्देशक थापाले चलचित्र विकास बोर्डमा ‘शुभ विवाह’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । जसमा प्रदीपको नाम कलाकारमा राखिएको छ ।

‘शुभ विवाह’ शीर्षकमा यसअघि पनि तीनजना निर्देशकले फिल्म बनाउने तयारी गरेका थिए । सबैभन्दा पहिला निर्देशक हेमराज विसीले उक्त शीर्षकमा फिल्म बनाउन प्रदीपलाई नै मुख्य भूमिकामा अनुबन्धित गरेका थिए । उनको जोडी बनेर अभिनेत्री साम्राज्ञी आरएल शाह देखिँदै थिइन् । यो २०७५ सालको कुरा हो । पछि एक मुख्य निर्माताले हात झिकेपछि यो फिल्म निर्माण हुन सकेन ।

हेमराजपछि निर्देशक सुरेन्द्र पौडेलले ‘शुभ विवाह’ बनाउन खोजेका थिए । यसमा प्रदीप नै हुने लगभग तय थियो । तर, उनले पनि बनाउन नसकेपछि निर्देशक आसिफ शाह तम्सिए । फिल्मको मुख्य भूमिकामा निश्चल बस्नेत र स्वस्तिमा खड्का देखिने निश्चित भइसकेको थियो । तर, उनले पनि काम अगाडि बढाउन सकेनन् । अब सुदर्शन उक्त शीर्षकमा फिल्म बनाउन कस्सिएका छन् ।

नामबाटै यो फिल्म विवाहको कथामा आधारित हुने बुझ्न सकिन्छ । यसमा प्रदीपको जोडी कोसँग बाँधिँदैछ भन्नेबारे कुनै जानकारी गराइएको छैन । सुदर्शनले प्रदीपसँग सम्झौता गरेको समयमा भने अभिनेत्रीमा पूजा शर्मा हुनसक्ने चर्चा थियो । तर, ‘रावायण’को असफलतापछि सुदर्शन र पूजाबीच पानी बाराबार जस्तै छ । यसैले ‘शुभ विवाह’मा उनीहरूबीच सहकार्य हुने सम्भावना देखिँदैन ।