मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै मितिमा बेनिशाका दुई फिल्म जुध्दै, भन्छिन्, ‘रिलिज कलाकारको हातमा हुँदैन’

फिल्मीखबर, काठमाडौं, 2025/06/17

benisha hamal

 

‘छक्का पञ्जा ४’को सफलतापछि अभिनेत्री बेनिशा हमालको फिल्ममा व्यस्तता निकै बढेको छ । यतिबेला उनलाई फिल्ममा भ्याइनभ्याइकै अवस्था छ । गत वर्ष मात्र उनले ‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’ गरी चारवटा फिल्मको छायांकन सकाइन् । गत महिना ‘बिगुल’को छायांकन भ्याएर यतिबेला उनी ‘द ब्ल्यू लाइट’मा व्यस्त छिन् । अझै केही फिल्म उनको ‘लाइनअप’मा छन् ।

तर, फिल्ममा व्यस्तता बढ्दा उनको दयाहाङ राईको जस्तै अवस्था आएको छ । अर्थात् एउटै मितिमा फिल्म जुघ्न थालेका छन् । उनका दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ साउन २३ गते एकसाथ हलमा लाग्दैछन् । पहिलो पटक उनका फिल्म भिड्न लागेका हुन् । यसैले यतिबेला उनी तनावमा छिन् । उनलाई सबैभन्दा ठूलो तनाव चाहिँ यी दुई फिल्मको प्रचारमा समय व्यवस्थापन गर्न हुनेछ ।

सोमबार ‘सिटामोल’को गीत रिलिज कार्यक्रममा बेनिशालाई दुई फिल्मको भिडन्तबारे प्रश्न गरिएको थियो । जवाफमा उनले फिल्म नजुधाउन आफूले दुवै फिल्मका मेकरसँग आग्रह गरेको भए पनि सम्भव हुन नसकेको बताइन् । उनले फिल्मलाई कहिले रिलिज गर्ने भन्ने कुरा कलाकारको हातमा नहुने पनि स्पष्ट पारिन् । यसको अधिकार निर्माता र वितरकमा मात्र रहने बेनिशाको भनाइ छ । 

‘दुईटा फिल्म नजुधेको भए हुन्थ्यो भन्ने त लागेको हो । मैले दुवै फिल्मका मेकरसँग कुरा पनि गरेको हुँ । उहाँहरुको पनि आफ्नै कुरा हुन्छ । रिलिज कहिले गर्ने भन्ने कुरा कलाकारको हातमा पनि हुँदैन,’ उनले भनिन्, ‘दुवै फिल्ममा मैले केही देखेरै काम गरेको हुँ । प्रचारमा समय दिने कुरामा चाहिँ सकेसम्म प्रयास गर्नेछु । तर, पर्याप्त समय दुवै फिल्मलाई दिन नसकिएला कि भन्ने डर छ ।’