कवि तथा निर्देशक उपेन्द्र सुब्बाले आफ्नो तेस्रो फिल्म ‘जारी २’को छायांकन सकाएका छन् । गत बैशाख ३० गतेबाट सुरु गरिएको फिल्मको छायांकन हिजो (सोमबार) प्याकअप भएको हो । मोन्टाज दृश्यबाहेक ३६ दिनमा सम्पूर्ण छायांकन सकिएको निर्माण कम्पनी बाँसुरी फिल्मसले जनाएको छ । १६५ सिन खिचिएको फिल्मको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको हो ।
फिल्मलाई दशैंमा रिलिज गर्ने योजनामा यसका निर्माता छन् । तर, प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यद्यपि, फूलपातीमा फिल्म रिलिज हुनसक्ने चर्चा छ । निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगर दोहोरिएका छन् । यसमा ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल सुब्बालगायतको पनि अभिनय रहेको छ ।
गत बैशाख १ गते एक पोस्टर सार्वजनिक गर्दै ‘जारी २’को निर्माण घोषणा गरिएको थियो । पोस्टरमा दयाहाङ च्याब्रुङ बजाउँदै गरेको अवस्थामा चित्रित थिए । फिल्मको उपशीर्षक नै ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । यसबाट के प्रष्ट हुन्छ भने फिल्मको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित छ । निर्देशक रामबाबु गुरुङ फिल्मको निर्मातामा रहेका छन् ।
‘जारी’ २०८० सालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम)मा आधारित भएर बनेको यो फिल्मले बक्स अफिसमा १७ करोड १७ लाखमाथिको व्यापार गरेको थियो । यसैबाट कवि सुब्बाले निर्देशनमा ‘डेब्यु’ गरेका थिए । उनको दोस्रो फिल्म ‘मनसरा’ अघिल्लो वर्ष प्रदर्शनमा आएको थियो ।