नेपालका महंगो अभिनेतामध्ये एक हुन्, अनमोल केसी । फिल्म ‘फर्की फर्की’मा उनलाई ५० लाख पारिश्रमिक तिरेको प्रमाण निर्माताले नै सार्वजनिक गरेका थिए । एउटै फिल्ममा ५० लाख लिने उनी नै पहिलो नेपाली कलाकार हुन् । उनी जति महंगो पारिश्रमिक लिन्छन्, त्यतिकै महंगो बजेटमा बन्छन् उनका फिल्म पनि । उनका पछिल्ला हरेक फिल्मको लागत ३ करोडमाथि छ ।
तर, अब अनमोलले करिअरकै सस्तो बजेटको फिल्ममा काम गर्ने भएका छन् । त्यो फिल्म हो, ‘बाटुलो जून’ । चलचित्र विकास बोर्डमा यो फिल्म दर्ता गर्दा बजेट २५ लाख उल्लेख गरिएको छ । त्यसो त फिल्मको लागत कम देखाउन प्रायः निर्माताले बोर्डमा अनुमानितभन्दा आधा कम बजेट राख्ने गरेका छन् । जसले गर्दा फिल्म रिलिजपछि थोरै आम्दानीमा ‘हिट’ घोषणा गर्न सहज हुन्छ ।
‘बाटुलो जून’को बजेट बोर्डमा २५ लाख उल्लेख गरिए पनि छायांकनमा ५५-६० लाख खर्च हुनसक्ने अनुमान निर्माण पक्षले गरेको स्रोत बताउँछ । यति कम लागतमै यो फिल्म बन्न सक्ने केही आधार छन् । पहिलो, अनमोलले पारिश्रमिक नलिइ काम गर्दैछन् । दोस्रो, निर्देशन र अभिनय गर्न लागेका भुवन केसीले पनि पारिश्रमिक लिने छैनन् । झण्डै एक करोड बजेट यसबाटै जोगिएको छ ।
भुवन स्वयंले निर्देशन गर्न लागेको भए पनि ‘बाटुलो जून’ अनमोलको होम प्रोडक्सन कम्पनी ‘सुपर काजल फिल्म्स’बाट निर्माण हुन लागेको होइन । बोर्डमा सनराइज पिक्चर्सबाट फिल्म दर्ता गरिएको छ । निर्मातामा जिया केसीको नाम छ । बुझिए अनुसार फिल्मको सम्पूर्ण आर्थिक भार जियाले उठाउँदैछिन् । जिया तिनै हो, जो लामो समयदेखि भुवनसँग ‘लिभिङ रिलेसनसिप’मा छिन् ।
‘बाटुलो जून’मा अनमोल गाउँले भूमिकामा देखिने जनाइएको छ । त्यसका लागि उनले जुँगा पालेका छन् । यही असार दोस्रो साता मकवानपुरको चित्लाङमा फिल्मको पहिलो चरणको छायांकन गरिँदैछ । यसपछि अनमोलले ‘जेरी अन टप’को गीत सकाएपछि दोस्रो चरणको छायांकन सुरु गरिने जनाइएको छ । ‘बाटुलो जून’लाई यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।