बलिउडको ‘कल्ट क्लासिक’ फिल्ममध्ये एक मानिन्छ, ‘शोले’ । सन् १९७५ मा रिलिज भएको यो फिल्मले बलिउडको दिशा नै बदलिदिएको थियो । व्यावसायिक सफलतामा समेत मानक बनाएको फिल्मले विश्वव्यापी ३५ करोडमाथि कमाइ गरेको थियो । जबकि, फिल्मको लागत ३ करोड थियो । अहिलेसम्म पनि यो फिल्मका निर्माताले विभिन्न माध्यमबाट राम्रो कमाइ गरिरहेका छन् ।
५० वर्षअघि सर्वाधिक कमाउने फिल्मको कीर्तिमान बनाएको ‘शोले’मा कलाकार र लेखकले कति पारिश्रमिक पाएका थिए भन्ने चासो धेरैमा हुनसक्छ । यसमा सबैभन्दा धेरै पारिश्रमिक पाउने धर्मेन्द्र थिए । उनलाई भारु १ लाख ५० हजार रूपैयाँ दिइएको थियो । उनीपछि महंगो पारिश्रमिक ठाकुरको भूमिकाका लागि सञ्जीव कुमारलाई मिलेको थियो । उनले १ लाख २५ हजार पाएका थिए ।
अभिनेता अमिताभ बच्चनलाई भने फिल्ममा तेस्रो धेरै पारिश्रमिक मिलेको थियो । उनले एक लाख रुपैयाँ बुझेका थिए । बसन्तीको भूमिकामा काम गरेकी हेमा मालिनीले ७५ हजार पाएकी थिइन् । उनीपछि महंगो पारिश्रमिक गब्बर सिंहको भूमिका निभाएका अमजद खानलाई मिलेको थियो । उनले पाएको पारिश्रमिक ६५ हजार रूपैयाँ थियो । जया बच्चनले भने ३५ हजार पाएकी थिइन् ।
त्यस्तै, साम्बाको भूमिकामा अभिनय गरेका म्याक मोहनलाई १२ हजार, विजू खोटेलाई कालियाको भूमिकाका लागि १० हजार र इमाम साहबको भूमिकामा देखिएका एके हंगललाई ८ हजार पारिश्रमिक दिइएको थियो । त्यस्तै, लेखक सलिम खान र जावेद अख्तरले ‘साइनिङ’ रकमको रुपमा १० हजार पाएका थिए, जुन १९७० को दशकमा लेखकले पाएको सबैभन्दा ठूलो रकम थियो ।