Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’मा भित्रिए ‘गजनी’ भिलेन

फिल्मीखबर, काठमाडौं, 2025/06/13

Pradeep Rawat

 

चर्चित भारतीय कलाकार प्रदीप रावत फेरि एकपटक नेपाली फिल्ममा देखिने भएका छन् । ‘गजनी’ भिलेनको रुपमा परिचित उनले चन्द्र पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ बाट आमा’मा अभिनय गर्न लागेका हुन् । पन्तकै निर्देशनमा बनेको ‘ह्रस्व दीर्घ’बाट उनले नेपाली फिल्ममा डेब्यु गरेका थिए । उनले चन्द्रको भोजपुरी फिल्म ‘माही’मा समेत काम गरेका छन् ।

निर्देशक पन्तका अनुसार फिल्ममा प्रदीपले अभिनेता पल शाहको बुबाको भूमिका निभाउनेछन् । उनले भने, ‘उहाँ नितान्त नेपाली स्टाइलको भूमिकामा देखिँदै हुनुहुन्छ । फिल्मको कथा र पात्र मन परेपछि काम गर्न तयार हुनुभएको हो । उहाँ फिल्मलाई लिएर उत्साहित हुनुहुन्छ ।’ फिल्मको छायांकनका लागि भदौमा नेपाल आउन लागेका उनले नेपाली भाषामै संवाद बोल्ने जनाइएको छ ।

प्रदीपले नेपालीसहित हिन्दी, तमिल, तेलुगु, मलायलम लगायत विभिन्न भाषाका फिल्ममा काम गरेका छन् । उनलाई दर्शकमाझ चिनाएको फिल्म भने ‘गजनी’ हो । यसमा उनी नकारात्मक भूमिकामा देखिएका थिए । उनले अल्लू अर्जुन, प्रभास जस्ता साउथ स्टारहरूसँग सहकार्य गरिसकेका छन् । उनी अघिल्लो वर्ष ‘ह्रस्व दीर्घ’ रिलिजको समयमा दर्शकसँग भेट गर्न नेपाल आएका थिए ।

‘आ बाट आमा’मा अभिनेत्री विपना थापाले मुख्य भूमिकामा अभिनय गर्दैछिन् । यसमा पल उनको छोरा बनेर देखिने जनाइएको छ । अभिमन्यू निरवीको संवाद लेखन रहेको फिल्मको आगामी भदौ अन्तिमबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण पक्ष छ । आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथामा आधारित भएर बन्न लागेको यो फिल्मलाई आगामी फागुन १५ गते प्रदर्शन गरिँदैछ ।