Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यानीमाया’मा पल आफैं मुख्य भूमिकामा देखिने, जोडी को ?

फिल्मीखबर, काठमाडौं, 2025/06/13

यानीमाया – Online Khabar

 

अभिनेता पल शाहले फिल्म ‘यानीमाया’बाट निर्माताको परिचय थप्दैछन् । गत बैशाख १ गते उनले यो फिल्मको घोषणा गरेका थिए । विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्ममा पलको अभिनय रहने वा नरहने भन्नेबारे भने कुनै जानकारी गराइएको थिएन । तर, बिहीबार उनले ‘महाराजधिराज’ छाडेपछि ‘यानीमाया’मा उनी निर्मातासँगै कलाकारको रुपमा पनि रहने खुलासा भएको छ ।

उनले फेसबुकमा एक पोस्टमार्फत् ‘महाराजधिराज’बाट अलग हुनुको कारण ‘यानीमाया’ रहेको जनाउँदै भनेका छन्, ‘मेरो आफ्नो कम्पनीले निर्माण गर्ने फिल्म ‘यानीमाया’मा मैले जिम्मेवार निर्माता र कलाकारको भूमिका निभाउनुपर्ने भएकाले दुवै फिल्मको सुटिङ एउटै समयमा जाने भएपछि एउटा फिल्म छोड्नुपर्ने अवस्था आएको छ⁠ । अब मेरो पहिलो प्राथमिकता ‘यानीमाया’ हुनेछ ।’

निर्देशक सुवेदीले पनि फिल्ममा पलको मुख्य भूमिका रहने पुष्टि गरेका छन् । उनका अनुसार पलले ‘महाराजधिराज’लाई समय दिएको भए यस वर्ष ‘यानीमाया’ बन्ने थिएन । छायांकनका लागि साउन महिना नै चाहिने र पात्रको तयारीका लागि एक महिना बढी समय दिनुपर्ने भएपछि उनले ‘महाराजधिराज’ छाडेका हुन् । अब पलले केही महिना म्यूजिक भिडियो समेत नगर्ने जनाइएको छ ।

निर्देशक सुवेदीले फिल्मीखबरसँग भने, ‘प्रदीप खड्कालाई जसरी ‘प्रकाश’मा काम गराएका थियौं, पलले पनि त्यसरी नै गर्नुपर्छ भन्ने मेरो अडान थियो । त्यसरी समय दिन नभ्याए म ‘छब्बीस करोड’ बनाउँछु भन्ने सोचेको थिएँ । अनि यो साउनमा फिल्म नखिचे अर्को वर्ष कुर्नुपर्छ । किनकि, फिल्मको आइडिया नै त्यस्तो छ । पलले ‘महाराजधिराज’ गरेको भए ‘यानीमाया’ यो वर्ष बन्ने थिएन ।’

आगामी साउनबाट बागलुङको ढोरपाटन क्षेत्रमा छायांकन गर्न लागिएको फिल्ममा पलको जोडी कोसँग बाँधिनेछ भन्ने निश्चित भएको छैन । तर, फिल्ममा पलको जोडी बनेर मोडल अञ्जना पुन मगर देखिन लागेको व्यापक चर्चा छ । निर्देशक सुवेदीले अञ्जना फिल्ममा निश्चित नभए पनि उनको अडिसन भने लिन लागेको बताएका छन् । केही दिनमै अभिनेत्रीको टुंगो लगाइने उनले बताए ।