मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाराजधिराज’मा पल नरहने, निर्माताले गरे सम्झौता अन्त्यको घोषणा

फिल्मीखबर, काठमाडौं, 2025/06/12

paul shah movie

 

निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा अब अभिनेता पल शाह नरहने भएका छन् । उनीसँग फिल्मलाई लिएर भएको सम्झौता अन्त्य गरिएको घोषणा निर्माण पक्षले गरेको छ । बिहीबार फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै आपसी सहमतिमा दुई पक्षबीचको सम्झौता अन्त्य गरिएको जनाएका छन् । 

सूचनामा भनिएको छ, ‘छत्रेश्वरी म्यानेजमेन्ट र यहाँ (पल शाह)बीच ‘महाराजधिराज’ निर्माणका लागि २०८१ कात्तिक १४ गते भएको सम्झौतालाई दुवै पक्षको आपसी सहमतिमा आजका मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको जानकारी गराउन चाहन्छौँ ।’

सम्झौताको अन्त्यसँगै अब फिल्मको विषयलाई लिएर दुवै पक्षबाट कुनै पनि प्रकारको कुराकानी नहुने समेत सूचनामा उल्लेख छ । ‘यदि कुनै पक्षबाट यो विषयलाई उचालेर कुनै आर्थिक वा सामाजिक हानि-नोक्सानी हुन गएमा सोको जिम्मेवारी सम्बन्धित पक्षले बेहोर्नेछ भनी हामी दुवै पक्ष कबुल गर्दछौँ,’ सूचनामा भनिएको छ । 

गत माघमा पलको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै ‘महाराजधिराज’को निर्माण घोषणा गरिएको थियो । तर, छायांकनको संघारमा आएर फिल्मबाट पल अलगिएका छन् । अब उनको ठाउँमा निर्माण पक्षले कसलाई लिन्छ भन्ने चासो उब्जिएको छ । पल अलगिए पनि फिल्ममा रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, वर्षा राउत, वर्षा सिवाकोटी लगायतका कलाकार यथावत् छन् । 

यसपालिको दशैंको फूलपातीमा रिलिज लक्ष्य राखिएको फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यसमा उनी स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको लगानीकर्तामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।