दर्शकमाझ ‘महानायक’को रुपमा चिनिएका अभिनेता राजेश हमालले आठ वर्षपछि कमब्याक फिल्म गरेको ‘नरसिंहा अवतार’ यतिबेला हलमा प्रदर्शनरत छ । फिल्मले व्यावसायिक सफलता हासिल गर्ने सम्भावना अब टरिसकेको भए पनि यो उनको १०/१२ वर्षयताकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । यसले घरेलु बक्स अफिसमा साढे दुई करोड करोडमाथि कमाइसकेको छ ।
सोमबार उनले फिल्मको टिमसँग काठमाडौंमा आफ्नो ६१ औं जन्मदिन मनाए । श्रीमती मधु भट्टराईको साथमा केक काटेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफ्नो नयाँ फिल्म प्रदर्शन भइरहँदा जन्मदिन मनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले अब फिल्ममा काम गर्न वर्षौं समय नलगाउने पनि बताएका छन् । वर्षमा एउटा फिल्म गर्ने सोचमा आफू रहेको उनको भनाइ छ ।
अभिनेता हमालले भने, ‘मैले आठ वर्षपछि ‘नरसिंहा’मा काम गरेँ । अब चाहिँ फिल्म गर्न यति समय लगाउँदिनँ । तर, पहिलाको जस्तो एकपछि अर्को फिल्म रफ्तारमा पनि गर्दिनँ । यद्यपि, राम्रो विषय भयो भने वर्षमा एउटा फिल्म गर्ने योजना चाहिँ बनाएको छु । सायद अर्को वर्ष कुनै न कुनै फिल्ममार्फत् दर्शकसामु आउन सक्छु । तर, केही वर्ष एउटाभन्दा ज्यादा फिल्म भने गर्दिनँ होला ।’
बच्चाको विषयमा सोधिँदै आएको प्रश्न हमाललाई जन्मदिनमा पनि टुटेन । यसपटक यो प्रश्न भने सञ्चारकर्मीले उनकी श्रीमती मधु भट्टराईलाई सोधे । तर, उनले बच्चाको विषयमा हमालले दिँदै आइरहेको जवाफ नै फर्काइन् । भनिन्, ‘बच्चाको बारेमा उहाँले भन्दै आइरहनुभएको छ । मेरो कुरा पनि त्यही नै हो । हामीले प्लानअनुसार नै गरिरहेका छौं । बच्चाको विषयमा अहिले सोचेका छैनौं ।’