गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’बाट चर्चामा आएकी निर्देशक कृषा चौलागाईंले तेस्रो फिल्मको रुपमा ‘जहाजैमा’ बनाउने भएकी छन् । मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्नेछ । केही हप्ताअघि कम्पनीले जापानमा कृषालाई फिल्मको निर्देशकमा अनुबन्धित गरेको थियो ।
थिम पोस्टरमा एक पुरुष जहाज चढ्न विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखिन्छ । निर्देशक चौलागाईंका अनुसार फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्नेछ । उज्ज्वल गुरागाईं निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
निर्माण पक्षले फिल्मका कलाकारको लाइनअप सार्वजनिक गरेको छैन । तर, केही दिनअघि निर्देशक चौलागाईंले एक जापानी अभिनेत्रीसँगको फोटो फेसबुकमा सेअर गर्दै चाँडै नाम सार्वजनिक गरिने बताएकी थिइन् । ती अभिनेत्री रजेल इचिमिया हुन् । ‘बि माइ गेस्ट, बि माइ बेबी’ जस्ता जापानी फिल्ममा अभिनय गरिसकेकी रजेल ‘जहाजैमा’मा मुख्य भूमिकामा देखिनेछिन् ।
सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन आगामी भदौमा गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहने जनाइएको छ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।