‘परदेशी २’ र ‘पूर्ण बहादुरको सारङ्गी’को व्यावसायिक सफलतापछि गायक तथा अभिनेता प्रकाश सपूतलाई फिल्म अफरको ओइरो लागिरहेको छ । उनले एकै वर्ष ४/५ वटा फिल्मसम्म सम्झौता गरिरहेका छन् । गत वर्ष ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘परालको आगो’मा आबद्ध भएका उनी अब नयाँ फिल्म ‘मिरमिरे’मा जोडिएका छन् ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा प्रकाशअघि अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । पहिलो पटक फिल्ममा दयाहाङ र प्रकाशले सहकार्य गर्न लागेका हुन् । प्रकाशले ‘मिरमिरे’मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आफ्नो भूमिका विशेष र महत्त्वपूर्ण रहेको बताउँदै उनले फिल्मले आफूलाई नयाँ उचाइँ दिने विश्वास व्यक्त गरे ।
निर्देशक शेर्पाले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता नगर्ने बताएका छन् । ‘मिरमिरे’ उनको दोस्रो निर्देशकीय फिल्म हुनेछ । उनको पहिलो फिल्म ‘कार्साङ’ गत वर्ष प्रदर्शनमा आएको थियो । यसमा उनले दयाहाङलाई नै मुख्य भूमिकामा लिएका थिए ।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने जनाइएको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’मा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ सह–निर्मातामा छन् । कार्यकारी निर्माता भने वितरक रोहित कट्टेल हुन् । फिल्मलाई यही वर्ष रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।