अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्म ‘जदौ’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । केही दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको फिल्ममा अब अभिनेता मुकुन भुसाल भित्राएका छन् । उनीसँग निर्माताले आइतबार लिखित सम्झौता गरेका हुन् ।
फिल्ममा साम्राज्ञी र मुकुनको जोडी बाँधिने जनाइएको छ । यो उनीहरुको पहिलो सहकार्य हुनेछ । निर्देशकको टुंगो लाग्न बाँकी रहेको फिल्ममा अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्ध भइसकेकी छन् । निर्देशकको बारेमा केही दिनमा जानकारी गराइने निर्माता अन्जन शर्माले बताए ।
सिल्भर स्क्रिन र समिश्रण मुभिजको संयुक्त ब्यानरमा बन्न लागेको फिल्मको सह-निर्माताहरुमा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ति तामाङ रहेका छन् । आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्ममा श्याम तामाङको छायांकन रहनेछ । जदौको अर्थ अभिवादन भन्ने हुन्छ । सानाले ठूलाबडालाई अभिवादन गर्दा यो शब्द प्रयोग गरिन्छ ।