मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले रुचाए ‘जन्ते बाख्रो’, हरि पात्रको प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2025/06/08

Jante-Bakhro-Hall-Visit

 

‘घामै राजा’ र ‘मुकु मुकु म्याँ’ गीतका कारण प्रदर्शनअघि चर्चामा रहेको फिल्म ‘जन्ते बाख्रो’ले बक्स अफिसमा अपेक्षाअनुरुप व्यापार गर्न सकेको छैन । प्रदर्शनको पहिलो दिन (शुक्रबार) फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि पुग्न सकेन । शनिबार भने ३० प्रतिशत हाराहारी रह्यो । दुई दिनको अकुपेन्सी कमजोर देखिएपछि फिल्मका धेरै शोहरू आइतबार कटौती भएका छन् ।

तर, व्यापार जे-जस्तो भए पनि फिल्मलाई दर्शकीय प्रतिक्रिया राम्रो मिलेको छ । शुक्रबार र शनिबार हलमा भेटिएका दर्शकहरूले सञ्चारकर्मीसँगको कुराकानीमा कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे । प्रायःले हरि पात्रको भूमिकामा अभिनय गरेका आसिफ शाहको कामलाई निकै मन पराएका छन् । शनिबार एक युवतीले हलबाट बाहिरिँदै गर्दा ‘आइ लभ यू हरि’ भनेकी थिइन् ।

पछिल्लो समय पार्टी प्यालेस केन्द्रित विवाहले जन्ते बाख्रो खुवाउने प्रचलन हराउँदै गएको अवस्थामा फिल्मले पुरानो परम्परालाई स्मरण गराएको भन्दै कति दर्शकले खुसी व्यक्त गरेका छन् भने कतिले सोचेभन्दा पनि राम्रो फिल्म रहेको प्रतिक्रिया दिएका छन् । यसबाट निर्माण पक्ष उत्साहित देखिएको छ । ‘माउथ पब्लिसिटी’को प्रभाव विस्तारै व्यापारमा देखिने अपेक्षा निर्माताले गरेका छन् ।

शुक्रबार र शनिबार फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मा काठमाडौंका विभिन्न हलमा पुग्दा उनीहरुसँग भेट्न र तस्वीर खिच्न दर्शकहरुबीच हानाथाप चलेको थियो । दर्शकबाट मिलेको प्रतिक्रियाले हर्षित देखिएकी गरिमाले आफू नयाँ भएका कारण फिल्म हेरेर साथ दिन आग्रह गरिन् । उनले मुख्य अभिनेत्रीको रूपमा काम गरेको यो पहिलो फिल्म हो ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतको पनि अभिनय छ । फिल्मले हराउँदै गएको जन्ते बाख्रो खुवाउने परम्परा, दुना-टपरीमा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका निर्माता सन्तोष गौतम हुन् ।