गत जेठ २२ गतेबाट छायांकनमा रहेको फिल्म ‘द ब्लू लाइट’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमाल मात्र चित्रित छन् । बारमा निराश मुद्रामा देखिएकी उनको औंलामा सल्किरहेको चुरोट र छेवैमा टकिला सटको गिलास छ । उनी कुनै पीडा भुलाउन बार पुगेको अनुमान पोस्टरबाट गर्न सकिन्छ ।
फिल्मको कथा काठमाडौंको रात्रि जीवनभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानमा आधारित रहेको संकेत पोस्टरले गर्छ । यद्यपि, निर्माण टिमले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छैन । २० दिनको तालिकामा यतिबेला फिल्मको छायांकन काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा भइरहेको छ ।
यो फिल्मलाई बलिराम चौहानले निर्देशन गरिरहेका छन् । उनको यो डेब्यु निर्देशन हो । यसअघि केही फिल्ममा सहायक निर्देशक भएर काम गरेका उनी ‘बलिदान’का लेखक समेत हुन् । ‘द ब्लू लाइट’मा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकारहरु ग्रिसमा कटुवाल र सहारा शर्मा लगायतको अभिनय देख्न पाइनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मको सह-निर्मातामा रमन ग्रे रहनेछन् भने कार्यकारी निर्माताहरुमा नरेन्द्र मैनाली र बेनिशा हमाल छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई सन् २०२५ भित्रै रिलिज गर्ने निर्माण पक्षको तयारी छ । तर, प्रदर्शन मिति घोषणा गरिएको छैन ।