नेपालमा बेलाबखतमा चर्चाको विषय बन्ने गरेको कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट नाममा फिल्म निर्माण हुने भएको छ । सिमसोन तामाङको निर्देशनमा बन्न लागेको ‘रातो पासपोर्ट’को आइतबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरियो । युरोपका देशहरूको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्न नेपालीहरूले गर्ने संघर्षको कथामा फिल्म आधारित हुने जनाइएको छ ।
सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् । लोक बहादुर तामाङ निर्माता रहेको फिल्ममा प्रवेश पौडेल कार्यकारी निर्माताको रुपमा छन् । पौडेलले यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए ।
फिल्मको प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाँकारका रूपमा रवीन्द्र न्यौपाने र सङ्गीतकारमा जयन जे. वाइबा जोडिएका छन् । पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा छायांकन हुने फिल्ममा कलाकारहरु भने निश्चित भएका छैनन् । त्यसका लागि युरोप र यूकेमा अडिसन गर्ने योजनामा निर्माण पक्ष छ ।
निर्देशक तामाङ नेपाली फिल्ममा एक्सन निर्देशक र प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन् । उनले ‘मधुमास’, ‘ब्ल्याक फ्ल्याग’, ‘बाउन्सर’, ‘लभ सब’, ‘किल्ला’, ‘ऐश्वर्य’, लगायतका फिल्ममा प्रमुख सहायक एक्सन निर्देशक तथा ‘धन्य माया जाल’, ‘असुर द मिस्ट्री’ (हिन्दी), ‘लप्पन छप्पन २’ जस्ता फिल्ममा एक्सन निर्देशकको रूपमा काम गरिसकेका छन् ।