अभिनेत्री तथा मोडल रुविना थापा आमा बनेकी छन् । उनले बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीलाई काखमा लिएको एक तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै खुसी साटेकी छन् । उनले छोरीको नाम ‘जून’ राखेको पनि जनाएकी छन् । यतिबेला उनलाई प्रशंसक र सेलिब्रेटीहरुबाट बधाईको ओइरो लागेको छ ।
उनले गत फेब्रुअरीमा आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् । फिल्ममा डेब्यु गर्नुभन्दा अगाडि नै विक्रान्त श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनले ३ वर्षयता फिल्ममा काम गरेकी छैनन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘म’ सन् २०२२ मा रिलिज भएको थियो । त्यसअघि रुविनाले फिल्म ‘डाँडाको वर पीपल’मा अभिनेता सलोन बस्नेतको जोडी भएर काम गरेकी थिइन् ।
उनले अभिनय गरेका फिल्मको संख्या तीनवटा मात्र भए पनि म्युजिक भिडियो एक सयभन्दा बढी छन् । कोरोना महामारीपछि भिडियोमा उनको व्यस्तता निकै बढेको थियो । फिल्ममा भने उनको करिअर त्यति सुखद् छैन । उनले अभिनय गरेका तीनवटै फिल्म सफल भएनन् । यद्यपि, ‘लभ डायरीज’मा उनको अभिनयको प्रशंसा भएको थियो । र, यसबाट अवार्ड पनि जितेकी थिइन् ।

