अभिनेता सविन श्रेष्ठले करिब तीन वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक सन् २०२२ मा रिलिज भएको ‘म’मा देखिएका उनले नयाँ फिल्म ‘कश्यप’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो ।
पोस्टरमा सविन ‘एंग्री योङ म्यान’को रूपमा प्रस्तुत छन् । लामो कपाल र दाह्रीसहित हातमा रगत लतपतिएको तरबार लिएर आक्रोशित देखिएका उनी फिल्ममा हिरो हुन् कि भिलेन भन्नेमा अन्योलता देखिन्छ । पोस्टरमा उनको बलिष्ठ शरीर र गेटअप हेर्दा फिल्ममा उनी एक्सन भूमिकामा प्रस्तुत हुने लागेको संकेत मिल्छ ।
एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुन लागेको फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन् । निर्देशनको हिसाबले यो उनको पहिलो फिल्म हुनेछ । उनले लामो छलफल, अनुसन्धान र तयारीपछि ‘कश्यप’ बनाउन लागेका हुन् । आगामी साउन अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा सविनबाहेक अन्य कलाकार तय भएका छैनन् ।