Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला

फिल्मीखबर, काठमाडौं, 2025/06/05

pitambar 2

 

व्यावसायिक रुपमा सफल नभए पनि एक्सनप्रधान फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । बिहीबार फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको खुसीयाली साट्न काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माताले दोस्रो भागको घोषणा गरेका हुन् । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण र रिलिज कहिले हुन्छ भन्नेबारेमा भने जानकारी गराइएको छैन ।

बुझिए अनुसार ‘पिताम्बर’को दोस्रो श्रृंखला प्रिक्वेल (पहिलो भाग) हुनेछ । फिल्म रिलिजअघि नै निर्देशक चौलागाईंले यसको प्रिक्वेल निर्माण गरिने र त्यसका लागि एक घण्टाको फुटेज (दृश्य) समेत खिचिसकेको बताएकी थिइन् । उनले फिल्मीखबरसँग भनेकी थिइन्, ‘प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ । अब कन्क्लुजनका लागि एक घण्टा जति खिच्न बाँकी छ ।’

गत चैत अन्तिममा प्रदर्शन भएको ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ५१ दिन मनाउँदै गर्दा देशव्यापी कमाइ साढे ४ करोड नाघेको छ । यसबाट निर्माताको हातमा २ करोडसम्म पर्न सक्छ । लगानी नै ४ करोडमाथि भएकाले फिल्म घरेलु बजारबाट घाटामा छ । यद्यपि, युट्युब र ओभरसिज राइट्ससहितको रकमबाट फिल्मको लगानी भने उठेको जनाइएको छ ।

बदलाको कथामा आधारित भएर बनेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देल लगायतको अभिनय छ । ‘पिताम्बर २’मा प्रदीप, सौगात र सुरक्षा दोहोरिन सक्ने चर्चा छ । यो फिल्ममा विशाल चौलागाईंको निर्माण र पुरुषोत्तम प्रधानको डीओपी तथा सह–निर्माण रहनेछ ।