मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जन्ते बाख्रो’लाई प्रिमियरमा कसले के भने ?

फिल्मीखबर, काठमाडौं, 2025/06/05

Jante-Bakhro-Team

 

यही शुक्रबार (जेठ २३ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’ले प्रिमियरमा सुखद् प्रतिक्रिया पाएको छ । बुधबार साँझ सुन्धारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स हललाई बेहुलीझैँ सिंगारेर आयोजना गरिएको प्रिमियरमा उपस्थित पाहुनाले फिल्म मनोरञ्जनको प्याकेज रहेको प्रतिक्रिया दिए । कलाकारहरुको अभिनय, छायांकन र संगीत पक्षको पनि प्रायःले प्रशंसा गरे ।

प्रिमियरमा फिल्म हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘म धेरैपछि हलभित्र निकै हाँसेकी छु । आसिफ दाई (आसिफ शाह)लाई लामो समयपछि पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअघिका फिल्ममा भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’

 

Barsha-Sanjog


अभिनेता संजोग कोइरालाले नयाँ पुस्तालाई ‘जन्ते बाख्रो’ले मनोरञ्जनसँगै संस्कृति र परम्पराबारे जानकारी दिने बताए । ‘तपाईंलाई ट्रेलरले आकर्षित गरेको छ भने फिल्म हेर्न आउनुस्, इन्जोय गर्नुहुन्छ । ग्रामीण परिवेश, सामाजिक सद्भाव र परम्पराको सुन्दर चित्रण फिल्ममा छ,’ उनले भने । 

अभिनेता सन्दीप क्षेत्रीले फिल्म निर्माणकै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको बताउँदै उनले भने, ‘मैले सुनेको पटकथा फिल्ममा कस्तो भएर आएको होला भन्ने कौतुहलता थियो । फिल्म रमाइलो बनेको रहेछ । म धेरै ठाउँ हाँसेको छु । दर्शकलाई पनि फिल्म रमाइलो लाग्नेछ ।’ 

 

Mahesh-Kafle


गायक महेश काफ्लेले फिल्मले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको धारणा व्यक्त गरे । ‘यसको कथा नदीझैँ सलल बगेको छ, हेरुन्जेल हाँसो रोकिन्न । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले त फिल्म हेर्दा एकदमै इन्जोय गरेँ,’ उनले भने ।

प्रिमियरमा फिल्मलाई ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया मिलेपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन् । पहिलो पटक मुख्य भूमिकामा काम गरेकी उनले फिल्मको रिलिज नजिकिँदै गर्दा आफूमा उत्साह र डर दुवैको मिश्रण रहेको अनुभव सुनाइन् । 

 

Garima-Sharma


अभिनेता सौगात मल्लले प्रिमियरमा जस्तै प्रतिक्रिया फिल्मलाई दर्शकबाट पनि प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला फिल्ममा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनुहुन्छ भन्नेमा आशावादी छु,’ उनले भने ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात र गरिमासहित आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतको अभिनय छ । सन्तोष गौतमको निर्माण रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको देशव्यापी अग्रिम टिकट बुकिङ खुला भैसकेको छ ।