अभिनेत्री द्वय केकी अधिकारी र नीता ढुंगानाका लागि वर्ष २०८१ सुखद् रह्यो । केकीका लागि त अविस्मरणीय नै बन्यो । उनले निर्माण र अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा १० करोडमाथि कमाएको थियो । नीताको निर्माण र अभिनय रहेको ‘ह्रस्व दीर्घ’ले पनि सुखद् कमाइ गर्यो । अब यी दुईजना अभिनेत्री दुई-दुईवटा नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् ।
‘बोक्सीको घर २’को निर्माणलाई पछाडि सार्दै केकीले चलचित्र विकास बोर्डबाट ‘भद्रकाली’ र ‘राधा पियारी’ शीर्षकमा दुई फिल्मको निर्माण इजाजत लिएकी छन् । उनले सोमबार बोर्डमा यी दुई फिल्म दर्ता गरेकी हुन् । ‘भद्रकाली’को निर्देशकमा उनका भाइ विम्वको नाम राखिएको छ । ‘राधा पियारी’को निर्देशन भने सञ्जय चौलागाईंले गर्नेछन् । यसमा केकी र विम्वको अभिनय रहनेछ ।
त्यस्तै, नीताले पनि गत सोमबार नै चलचित्र विकास बोर्डबाट ‘एक दुई तीन’ र ‘सुख दुःख’ शीर्षकमा फिल्म निर्माणको इजाजत लिएकी छन् । दुवै फिल्ममा उनको नाम निर्माता र कलाकारमा छ । केही समयअघि उनले आफ्नो टिम ‘ह्रस्व दीर्घ २’ निर्माणको तयारीमा जुटेको बताएकी थिइन् । तर, नीताले तत्काललाई यो प्रोजेक्ट रोक्दै नयाँ शीर्षकमा दुई फिल्मको तयारी सुरु गरेकी छन् ।
गत सोमबार केकी र नीतासहित १२ जना निर्माताले बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका थिए । नेपाली फिल्मको इतिहासमा पहिलो पटक एकैदिन १२ वटा फिल्म दर्ता भएको हो । यसले फिल्म निर्माणमा बढेको आकर्षणलाई दर्शाउँछ । गत कात्तिकदेखि गत सोमबारसम्म बोर्डबाट निर्माणका लागि इजाजत लिएका सबै फिल्म बनेको खण्डमा यस वर्ष रिलिजमा कीर्तिमान बन्न सक्नेछ ।