जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन्, सौगात मल्ल । यसैले त अभिनयमा अब्बल कलाकारको चर्चा हुँदा उनको नाम छुट्दैन । करिअरको डेढ दशक लामो अवधिमा नयाँ-नयाँ चरित्रमा आफूलाई प्रमाणित गरिसकेका उनी रोमान्टिक भूमिकामा भने विरलै देखिने गरेका छन् । धेरैपछि उनले यसप्रकारको भूमिका आफ्नो नयाँ फिल्म ‘जन्ते बाख्रो’मा निभाएका छन् ।
उनी रोमान्टिक भूमिकामा आफू कमै देखिएको भए पनि काम गर्न भने एकदमै मनपर्ने बताउँछन् । भन्छन्, ‘मैले गर्दै आइरहेको भूमिकाभन्दा ‘जन्ते बाख्रो’मा केही फरक छ । म यसमा काम गर्न राजी हुनुको एउटा कारण भूमिका पनि हो । किनकि, यस्तो खालको भूमिका गर्न मलाई एकदमै मनपर्छ ।’ फिल्ममा निभाएको पात्रसँग आफ्नो केही स्वभावहरू पनि मिल्ने उनको भनाइ छ ।
‘जन्ते बाख्रो’मा चरित्र निर्माण गर्न समय पाएकाले केही फरक देखिएको विश्वास उनलाई छ । ‘एउटा फिल्ममा काम गरिसकेपछि केही समय पाइयो भने नयाँ चरित्र निर्माण गर्न सकिन्छ । एउटामा काम गरेपछि लगत्तै अर्को गर्न भने गाह्रो हुन्छ । मैले ‘जन्ते बाख्रो’मा आफ्नो चरित्रलाई बुझ्न र त्यसलाई निर्माण गर्न समय पाएको थिएँ । यसैले केही फरक देखिएको छ,’ सौगात दाबी गर्छन् ।
उनले ‘जन्ते बाख्रो’ले आफ्नो ग्रामीण जीवनलाई पनि स्मरण गराएको बताए । उनले गाउँमा रहँदा भोज भतेरमा सहभागी भएको किस्सा सुनाउँदै अगाडि भने, ‘गाउँमा हुँदा भोज भतेरमा काम गर्न पुगिन्थ्यो । मैले साथीहरुसँग मिलेर विवाहमा धेरै पटक भोज तयार गरेको छु । विवाहमा केराको पातमा भोज पनि धेरै खाइयो । ‘जन्ते बाख्रो’मा काम गर्दा बाल्यकालका दिनहरू धेरै सम्झिएँ ।’
फिल्मले गाउँघरमा टपरीमा खुवाइने भोज परम्पराको विषयमा जानकारी दिँदै मनोरञ्जन प्रदान गर्ने सौगातको जिकिर छ । उनका अनुसार जन्ते बाख्रो दुई प्रकारको हुन्छ । एउटा बेहुली लिएर फर्किएको जन्तीलाई बेहुली पक्षले बाटोमा खुवाउने भोज हुन्छ भने अर्को बेहुली भित्र्याएपछि बेहुला पक्षबाट घरगाउँलेलाई भोज खुवाइन्छ । फिल्मको कथा यही प्रसंगसँग जोडिएको सौगातले बताए ।
सिमोस सुनुवारको निर्देशकमा तयार भएको फिल्ममा सौगातसहित आसिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, समापिका गौतम लगायतको अभिनय छ । प्रदीप भारद्वाजको कथा, पटकथा एवं संवाद रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन् । यही शुक्रबार अर्थात् जेठ २३ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।