साइकोलोजिकल थ्रिलर विधामा आधारित भएर निर्माण हुन लागेको फिल्म ‘द ब्लू लाइट’को शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट, क्यामरा र क्ल्याप पूजा गरेपछि नरिवल फुटाएर मुहूर्त गरियो । फिल्मको छायांकन यही जेठ २२ गतेबाट सुरु हुने जनाइएको छ ।
काठमाडौं उपत्यकाभित्र छायांकन गरिने फिल्ममा बलिराम चौहानको निर्देशन रहनेछ । यसैबाट निर्देशनमा डेब्यु गर्न लागेका उनले फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन । अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतको फिल्ममा अभिनय रहनेछ ।
केही दिनअघि फिल्मको निर्माण घोषणा गर्दै थिम पोस्टर सार्वजनिक गरिएको थियो । जसमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मको सह-निर्मातामा रमन ग्रे छन् । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । ‘द ब्लू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।