कथाको पात्रअनुसार फिल्ममा कलाकार खोज्ने जिम्मेवारी निर्देशकको हुन्छ । तर, नेपाली फिल्ममा बेला बखतमा निर्देशकको टुंगो नलाग्दै निर्माताले नै कलाकार छानिसकेका छन् । नयाँ फिल्म ‘जदौ’मा पनि यस्तै भएको छ । निर्देशक बिनै फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी आरएल शाहलाई अनुबन्धित गरिएको छ । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् ।
नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते स्क्रिप्ट पूजा गरेर फिल्मको टाइटल डिजाइन सार्वजनिक गरिएको थियो । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म सामाजिक प्रेमकथामा आधारित भएर बन्ने जनाइएको छ । निर्देशकको बारेमा केही दिनभित्र जानकारी गराइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताए ।
आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्मलाई श्याम तामाङ्गले छायांकन गर्नेछन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको संगीत रहनेछ । फिल्मको सह-निर्माताहरूमा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छन् । फिल्मलाई यसै वर्ष रिलिज गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्ममा साम्राज्ञीबाहेक अरू कलाकार निश्चित भएका छैनन् ।