गत चैतमा प्रदर्शन भएको ‘पिताम्बर’ बक्स अफिसमा सफल नभए पनि यसले कृषा चौलागाइँलाई भने एक्सन निर्देशकको रुपमा स्थापित गरायो । ठूला स्टारलाई लिएर ठूलो बजेटमा स्तरीय एक्सन फिल्म बनाएको भन्दै उनको प्रशंसा भएको थियो । यसपछि उनलाई बाहिरी ब्यानरबाट फिल्म निर्देशनको प्रस्ताव आइरहेको छ । यसैबीच, उनले जापान पुगेर नयाँ फिल्म साइन गरेकी छन् ।
अघिल्लो साता एक अवार्डमा सहभागी हुन जापान पुगेको समयमा कृषाले यूएनए प्रोडक्सनको निर्माण रहने फिल्म साइन गरेकी हुन् । यूएनएका प्रमुख तथा जापान वितरक उज्ज्वल गुरागाँई र कृषाबीच कागजी सम्झौता भएको हो । फिल्ममा नेपाल, जापान र फिलिपिन्सका कलाकारको अभिनय रहने जनाइएको छ । त्यसका लागि प्रमुख भूमिकामा एक अभिनेत्रीको टुंगो लागिसकेको छ ।
फिल्मको निर्माणमा यूएनए प्रोडक्सनसँग जापानको एक टिमले पनि सहकार्य गर्नेछ । फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भइसकेको निर्माता गुरागाँईले जानकारी दिए । फिल्मको नाम र कलाकारको बारेमा केही दिनमा जानकारी गराइने उनले बताए । उनका अनुसार फिल्ममा नाम चलेका कलाकार हुनेछन् ।
फिल्म निर्देशनका लागि कृषाले ४० लाखमाथि पारिश्रमिक बुझेको चर्चा छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भएको छैन । कृषाले ‘पिताम्बर’पछि आफू नयाँ फिल्ममा जोडिएको जानकारी दिँदै दर्शकको विश्वासलाई टुट्न नदिने बताएकी छिन् । निर्देशनको हिसाबले उनको यो तेस्रो फिल्म हुनेछ । ‘पिताम्बर’अघि उनले ‘ऐंचो पैचो’को निर्देशन गरेकी थिइन्, जुन उनको डेब्यु फिल्म थियो ।