रिलिजअघि फिल्म ‘नरसिंहा अवतार’को चर्चा लोभलाग्दो थियो । त्यसको एउटै कारण थियो, राजेश हमालको कमब्याक । धेरैलाई अपेक्षा थियो, फिल्ममा उनको कामको पनि चर्चा हुनेछ । तर, यतिबेला अर्का अभिनेता राज कटुवालको चर्चाले उनी छायाँमा परेका छन् । फिल्म हेर्ने प्रायःले राजको एक्सन र अभिनयको प्रशंसा गरेका छन् । उनको क्लाइमेक्सको दृश्य बढी रुचाइएको छ ।
फिल्म प्रदर्शन भएदेखि विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका राज शनिबार चाबहिलस्थित एफक्युब हलमा पुग्दा भने आफैं स्तब्ध भए । केही युवतीहरु उनलाई अंकमाल गर्दै रोएका थिए । क्लाइमेक्समा राजको पात्रले भोगेको पीडा देखेर उनीहरु भावविह्वल बनेका थिए । उक्त भिडियो राजले सामाजिक सञ्जालमा सेअर गर्दै यसलाई आफूले पाएको ठूलो पुरस्कार भनेका छन् ।
गत साता उनी पूर्वी सहर हुँदै धनगढी पनि पुगेका थिए । त्यहाँको एक हलमा उनलाई दर्शकहरुले काँधमा बोकेर प्रेम दर्शाएका थिए । दर्शकबाट यो किसिमको मायाले आफू खुसी रहेको राज बताउँछन् । उनी भन्छन, ‘म एकदमै खुशी छु । दर्शकहरुले मलाई यति धेरै माया दिनुहुन्छ भनेर सोचेको पनि थिइनँ । एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो । त्यो माया मैले पाइरहेको छु ।’
दोस्रो हप्ताको शनिबारसम्म डेढ करोडमाथिको व्यापार गरिसकेको ‘नरसिंहा अवतार’मा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । नीति शाह, सनिशा भट्टराई, नीर शाह, उषा खड्गी, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतको पनि अभिनय रहेको यो फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र दीपक प्रसाद ढकालको लगानी छ ।