पछिल्लो समय ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहेको अवस्था छ । जसले गर्दा कुनै समय प्रचलनमा रहेको जन्ते बाख्रो खुवाउने परम्परा सहरी क्षेत्रमा लोप नै भइसकेको छ । यद्यपि, दुर्गम क्षेत्रहरुमा अझै पनि विवाहको भोज खेतबारी वा खुला ठाउँमा खुवाउने प्रचलन कायम छ । यही विषयमा आधारित रहेर बनेको फिल्म ‘जन्ते बाख्रो’ जेठ २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ग्रामीण जनजीवनसँग जोडिएको जन्ते बाख्रो खुवाउने परम्परालाई आधार बनाएर फिल्म बनेको लेखक प्रदीप भारद्वाजले बताएका छन् । उनी भन्छन्, ‘नयाँ विषय खोज्ने क्रममा आएको आइडिया हो यो । बेहुली पक्षले बेहुलासहितको जन्तीलाई बाटोमा खुवाउने भोज र बेहुली भित्रिएपछि केटा पक्षले गाउँलेलाई जन्ते बाख्रो खुवाउने परम्पराको प्रसंग जोडेर फिल्मको कथा तयार पारिएको छ ।’
पछिल्लो समय जन्ते बाख्रो खुवाउने प्रचलन ‘पार्टी प्यालेस’मा ‘अपग्रेड’ भएका कारण नयाँ पुस्तालाई पुरानो संस्कृतिको विषयमा फिल्मले जानकारी दिने विश्वास लेखक भारद्वाजको छ । ‘विवाहमा जन्ती गएका पाहुनालाई खेतबारी वा खुला ठाउँमा खुवाउने भोज संस्कार सहरी क्षेत्रमा बस्ने नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ । ‘जन्ते बाख्रो’ले त्यो संस्कारबारे जानकारी गराउनेछ,’ उनले भने ।
फिल्मको प्रचार सामग्रीमा निर्माण पक्षले बोकाको एनिमेटेड दृश्य समावेश गर्दै आएको छ । लेखक भारद्वाजका अनुसार फिल्ममा बोकाको पनि महत्त्वपूर्ण भूमिका छ । उनले भने, ‘फिल्मको पहिलो दृश्यदेखि नै बोकाको प्रसंग जोडिएको छ, सोही कारण हामीले यसलाई प्रचारप्रसारमा अगाडि ल्याएका छौँ ।’ ‘जन्ते बाख्रो’ रमाइलो कमेडी फिल्म भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, आसिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतको अभिनय छ । फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्ममा समावेश ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ गीत यतिबेला चर्चामा छ ।