नेपालमा फिल्मको व्यापारलाई लिएर ठूलो झुटको खेती हुने गरेको छ । फिल्म राम्रो चलेको देखाउन करोडौं कमाएको डंका पिटिन्छ । जबकि, फिल्मले पोस्टर छपाईको पैसा पनि उठाएको हुँदैन । अहिले प्रायः हलमा बक्स अफिस जडान भइसक्दा पनि व्यापार लाखौं बढाएर भन्ने प्रवृत्ति रोकिएको छैन । जसले गर्दा बक्स अफिस र निर्माताको हिसाबमा ठूलो अन्तर देखिने गरेको छ ।
यतिबेला हलमा प्रदर्शन भइरहेका दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘नरसिंहा अवतार’को व्यापारिक आँकडामा पनि लाखौंको फरक देखिएको छ । ‘ऊनको स्वीटर’को व्यापारमा मात्र १ करोड १५ लाखको अन्तर छ । फिल्मले तीन सातामा १० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको दाबी निर्माण पक्षले गरेको छ । सरकारी बक्स अफिसमा भने फिल्मको कमाइ ८ करोड ९० लाख रुपैयाँ रहेको छ ।
‘नरसिंहा अवतार’को व्यापारमा पनि ८० लाखमाथिको फरक छ । शुक्रबार निर्माताले एक पोस्टरमार्फत् फिल्मले एक सातामा २ करोड ४ लाख ग्रस कमाएको दाबी गरेका छन् । तर, सरकारको बक्स अफिस तथ्यांकमा फिल्मको एक साताको व्यापार १ करोड २२ लाख रुपैयाँ ग्रस देखिन्छ । यसरी बक्स अफिस र निर्माताको हिसाबमा लाखौंको फरक देखिनु आफैंमा आश्चर्यजनक कुरा हो ।
यसअघि पनि केही फिल्मको व्यापार निर्माताबाट एउटा र बक्स अफिसमा अर्कै देखिएको थियो । ‘ह्रस्व दीर्घ’ भन्ने फिल्मको त व्यापारिक आँकडामा ६ करोडको अन्तर थियो । केही हलमा बक्स अफिस नजोडिएकाले ८/१० लाखको अन्तर हुनु सामान्य हो । तर, बक्स अफिसमा भन्दा करोडौं बढाएर व्यापार सार्वजनिक गर्ने परिपाटीले भने निर्माताप्रति दर्शकहरुको विश्वास गुमिरहेको छ ।