यही जेठ २१ गतेबाट छायांकन सुरु हुन लागेको साइकोलजिकल थ्रीलर फिल्म ‘द ब्लू लाइट’का लागि यतिबेला कलाकार छनोट प्रक्रिया चलिरहेको छ । यसैबीच, निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल र अभिनेता अर्पण थापालाई अनुबन्ध गरेको छ । निर्माताले केही दिनअघि उनीहरुसँग लिखित सम्झौता गरेका हुन् ।
गत साता बेनिशाले फिल्ममा आफू आबद्ध भएको जानकारी दिँदै फेसबुकमा लेखेकी थिइन्, ‘केही प्रोजेक्टहरु स्क्रिप्ट पढ्ने वित्तिकै हृदयसँग जोडिन्छन् । यो मेरो लागि त्यस्तै रह्यो । गहिरो, फरक तथा अर्थपूर्ण कुरा प्रदान गर्ने कथाको हिस्सा हुन पाउँदा म अविश्वसनीय रूपमा कृतज्ञ महसुस गर्छु । यसमा मैले यस्तो भूमिका निभाउँदैछु, जुन यसअघि कहिल्यै गरेको थिइनँ ।’
‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो । स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको सह-निर्मातामा रमन ग्रे रहेका छन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
गत साता थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको थियो । जसमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएको देख्न सकिन्छ । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ, र उनको जुङरुङ्ग कपाल र विछिप्त मुद्राबाट फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ । यद्यपि, पोस्टरबाट फिल्मको कथावस्तु प्रष्ट हुँदैन ।