मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलले गरे ‘महाभोज’ हिट हुने दाबी

फिल्मीखबर, काठमाडौं, 2025/05/27

Nischal Basnet

 

सहकारी ठगी प्रकरणको कथामा बनेको फिल्म ‘महाभोज’ यही बिहीबारबाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको दुई दिनअघि मंगलबार काठमाडौंमा फिल्मको विशेष शो आयोजना गरियो । जहाँ केही सीमित फिल्मकर्मीदेखि ५० भन्दा बढी सहकारी पीडितहरू उपस्थित भएका थिए । फिल्म हेरेपछि अधिकांशले कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा गरे ।

विशेष शोमा उपस्थित भएका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ‘महाभोज’ हिट हुने दाबी नै गरेका छन् । उनले सामाजिक सञ्जालमा फिल्मको प्रशंसा गर्दै लेखेका छन्, ‘निर्देशक दिनेश राउतको अर्को हिट फिल्म । मनोरञ्जक तथा रोचक फिल्म । निकै राम्रो तरिकाले लेखिएको पटकथा, सम्पूर्ण कलाकारको सानदार अभिनय र निर्देशकद्वारा सुन्दर तरिकाले प्रस्तुत गरिएको फिल्म ।’

फिल्म हेरेपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा ‘महाभोज’ले उठाएको विषयले बहस सिर्जना गर्न सक्ने बताए । ‘सहकारी पीडितको जुन समस्या छ, त्यसलाई स्क्रिनप्लेको फर्म्याटमा ल्याएर रमाइलो ढंगले गहिरो समस्यालाई राम्रोसित देखाइएको छ,’ निर्देशक बस्नेतले भनेका छन्, ‘यसले बहस सिर्जना गर्न सक्छ । र, यो समस्याको समाधान गर्नुपर्ने पक्षलाई पनि झकझक्याउनेछ ।’

विशेष शोमा उपस्थित केही सहकारी पीडितहरू फिल्म हेरेपछि रुँदै हलबाट निस्किएका थिए । उनीहरूले ‘महाभोज’ यथार्थपरक फिल्म रहेको बताए । एक सहकारी पीडितले सञ्चारकर्मीसँग भने, ‘यो फिल्म अलि अगाडि नै बन्नुपर्थ्यो भन्ने लागेको छ । फिल्मले उठाएको विषय यथार्थपरक छ । यसले हामीलाई थप ऊर्जा थपेको छ । यसका लागि म फिल्मको टिमलाई धन्यवाद भन्न चाहन्छु ।’

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, सुरक्षा पन्त, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको अभिनय छ । क्लक वर्क क्रियशन तथा पिक्चर फ्रेमको प्रस्तुति रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन् । ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुलिसकेको छ ।