Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जन्ते बाख्रो’को प्रचार अभियान तीव्र

फिल्मीखबर, काठमाडौं, 2025/05/26

जेठ २३ गतेदेखि प्रदर्शनमा आउने ‘जन्ते बाख्रो’ फिल्मको प्रचार अभियान तीव्र पारिएको छ। निर्माण पक्षले नेपालको पूर्वी क्षेत्रबाट प्रचार सुरु गरेको हो।

 

निर्माता सन्तोष गौतमका अनुसार, पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा फिल्मका प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको छ। "हामीले राम्रो फिल्म बनाएकाले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौं। झापाका मुख्य शहरहरूमा फिल्मका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौं। हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो," उनले भने।

 

 

फिल्मका सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्। फिल्मको ट्रेलर आज सोमबारदेखि इन्टरनेटमा उपलब्ध हुनेछ। गीत, संगीत तथा ट्रेलर डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत हेर्न सकिनेछ।

 

सिमोस सुनुवारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ। मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन्। निर्देशक सुनुवारका अनुसार, यो फिल्म विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ।

 

फिल्ममा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ। निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ।