नेपाली फिल्म क्षेत्रमा अग्लो कद बनाएका अभिनेता राजेश हमालले आठ वर्षपछि कमब्याक गरेको फिल्म ‘नरसिंहा : अवतार’ गत शुक्रबारबाट प्रदर्शनरत छ । रिलिजपूर्व उनको कमब्याकलाई लिएर दर्शक उत्साहित देखिएका थिए । यसैले फिल्मको कमाइ आक्रामक हुन सक्ने आँकलन गरिएको थियो । तर, दुई दिनको व्यापारिक अवस्था हेर्दा न उत्साहजनक न निराशाजनक देखिन्छ ।
शुक्रबार फिल्मको देशव्यापी अकुपेन्सी ४०/४५ प्रतिशत थियो । बिहानी शोमा न्यून रहेको अकुपेन्सी दिउँसोबाट वृद्धि भएको थियो । शनिबारको विदामा भने फिल्मले देशभर राम्रो अकुपेन्सी प्राप्त गर्यो । काठमाडौंसहित पोखरा, इटहरी, चितवन जस्ता सहरमा फिल्मका केही शोहरू हाउसफुल नजिक पुगेका थिए भने देशकै ठूलो सिंगल थिएटर अष्टनारायण समेत हाउसफुल भएको थियो ।
निर्माताले दुई दिनको व्यापारिक आँकडा सार्वजनिक नगरे पनि ७० लाखमाथिको व्यापार भएको हुनसक्ने अनुमान गरिएको छ । आइतबार भने फिल्मको अकुपेन्सीमा भारी गिरावट आएको देखिन्छ । दिउँसो १ बजेसम्म फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि कटेको छैन । यद्यपि, अपराह्नको शोबाट ‘वर्ड अफ माउथ’को प्रभाव हलमा देखिने विश्वासमा निर्माण टिम रहेको छ ।
फिल्म प्रदर्शनमा आएदेखि अभिनेता हमाल काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । शनिबार उनी दर्शकसँग साक्षात्कार गर्न करिब १० वर्षपछि अष्टनारायण हल पुगेका थिए । उनलाई आँखै अघि देख्दा दर्शकहरूले ताली र सिठ्ठी बजाउँदै स्वागत गरेका थिए भने उनले हलको स्टेजबाट दर्शकसँग एकै स्वरमा ‘हे....’ संवाद बोल्दा हल नै गुञ्जयमान बनेको थियो ।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।