दुई हप्तामा साढे ६ करोडमाथिको व्यापार गर्दै यस वर्षको पहिलो हिट फिल्म बन्न सफल भएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले दर्शकसँगै सेलिब्रेटीहरुबाट पनि उच्च प्रशंसा पाइरहेको छ । बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा पनि प्रशंसाको ओइरो लाग्यो ।
विशेष शोमा अभिनेत्री मनीषा कोइराला, अभिनेता एवं क्याप्टेन विजय लामा, अभिनेता नाजिर हुसेन, गायकद्वय आनन्द काकी, राजेश पायल राई, संविधानविद् डा. भीमार्जुन आचार्य, नेतृ नविना लामा, पत्रकार दिलभुषण पाठक लगायतले फिल्म हेरेका थिए । उनीहरूले ‘ऊनको स्वीटर’ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई सुन्दर रुपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।
अभिनेत्री कोइरालाले भनिन्, ‘कति सुन्दर र मनछुने प्रेमकथा ! जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने सङ्गीत अनि सशक्त अभिनयले यो फिल्म अविस्मरणीय बनाएको छ । हामी हाँस्यौँ, रोयौँ, र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्यौँ ।’
गायक राईले पनि फिल्म अत्यन्त सुन्दर बनेको बताए । उनले भने, ‘निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरुको अभिनय उल्लेखनीय छ । यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली फिल्म उद्योगमा गर्व गर्न लायक काम हुँदैछ ।’ अर्का गायक आनन्द कार्कीले फिल्मको हरेक कुराले मन छोएको प्रतिक्रिया दिए । उनले संगीत पक्षको पनि खुलेर प्रशंसा गरे ।
अभिनेता तथा पाइलट विजय लामाले फिल्मको कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे । ‘यसका निर्देशक अमेजिङ स्टोरी टेलर हुन् । फरक ढङ्गको अर्ग्यानिक कथा बोकेको यो फिल्म सहरमा बस्ने हाम्रा लागि अनिवार्य हेर्नुपर्ने फिल्म हो,’ उनले भने ।
त्यस्तै, अभिनेता नाजिर हुसेनले फिल्मले पुराना दिनहरूको सम्झना दिलाएको बताए । ‘फिल्म न्यानो छ, कोमल छ । पुरानो समयको न्यानोपन फेरि बाँचेजस्तो लाग्यो । कलाकारहरूको अभिनयले दिल नै चोरेर लैजान्छ,’ उनले प्रतिक्रिया दिए ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको जनाइएको छ । ‘ऊनको स्वीटर’ व्यावसायिक रुपमा सफल हुन गीतसंगीतले ठूलो भूमिका खेलेको छ ।