यही जेठ दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने श्रृंखला रोकिएको छैन । हप्तैपिच्छे फिल्ममा नाम चलेका कलाकारहरु आबद्ध भइरहेका छन् । यसैबीच, फिल्मको मुख्यमध्ये एक भूमिकामा अभिनेता पुष्प खड्का भित्रिएका छन् । उनीसँग निर्माताले आइतबार लिखित सम्झौता गरेका हुन् ।
पुष्पको प्रवेशले फिल्ममा स्टारकास्टको लाइनअप थप मजबुद बनेको छ । यसअघि फिल्ममा रमेश उप्रेती, आर्यन सिग्देल, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी र जय किशन बस्नेत अनुबन्धित भइसकेका छन् । कलाकारको यो लाइनअपले दर्शकमा फिल्मप्रति उत्सुकता र अपेक्षा दुवै बढाएको छ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । यसमा उनी स्वयंको लेखन रहेको छ । यसअघि उनी निर्देशित फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए । फिल्मको निर्माताहरुमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । आगामी फूलपातीमा फिल्म देशभर प्रदर्शनमा आउने तयारीमा छ ।