एक समयकी चर्चित अभिनेत्री विपना थापाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि अभिनयमा कमब्याक गरिन् । चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मले हलमा सुखद् व्यापार गरेको थियो ।
निर्देशक पन्त यतिबेला अर्को फिल्म ‘आ बाट आमा’को तयारीमा छन् । र, यो फिल्ममा पनि उनले अभिनेत्री विपना थापालाई अनुबन्धित गरेका छन् । उनलाई निर्देशक पन्तले केही दिनअघि मात्रै अनुबन्ध गरेका हुन् ।
फिल्ममा विपनाको शीर्ष भूमिकामा रहनेछ । उनैको वरिपरि फिल्मको कथा घुम्ने निर्देशक पन्तले बताए । उनले भने, ‘फिल्ममा उहाँको नै मुख्य भूमिका हो । क्यारेक्टर पनि राम्रो छ । आफू निर्देशक र लेखकको हिसाबमा भन्नुपर्दा नेपालमा अहिलेसम्म यत्तिको इमोसनल कथामा फिल्म बनेको छैन । त्यसैले यो क्यारेक्टर विपना थापालाई सुहाउने भएर अनुबन्ध गरेका हौं ।’
यता अभिनेत्री विपनाले फिल्मको कथा सुन्दा नै भावुक बनाएको र काम गर्न राजी भएको बताएकी छन् । ‘मलाई निर्देशकले स्टोरी सुनाउँदा यति भावुक भएँ की म व्यक्त गर्न सक्दिनँ । उहाँले स्टोरी सुनाउँदाखेरि मेरो घाँटी ख्याप्प भएर सुकेको थियो । स्टोरी यति पावरफुल, यति स्ट्रोङ छ,’ विपनाले भनिन् ।
उनले यो फिल्मको कथा बलियो भएकाले काम गर्न राजी भएको बताइन् । उनले अगाडि भनिन्, ‘यो फिल्मको स्टोरी र गीत सुन्दा म एकदमै रोएकी थिएँ । दर्शकहरु पनि यो गीत सुन्दाखेरि रूनुहुन्छ । ‘ह्रस्व दीर्घ’को गीत जति मार्मिक थियो, त्यो भन्दा मार्मिक गीतहरू यसमा छन् ।’
‘ह्रस्व दीर्घ’मा मेयरको भूमिका निर्वाह गरेकी विपना ‘आ बाट आमा’मा आमाको भूमिकामा देखिने जनाइएको छ । फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन् । केही दिनअघि थिम पोष्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको थियो । फिल्मले आमा र सन्तानबीचको कथा भन्नेछ । आगामी भदौदेखि फिल्म छायांकनमा जाने र फागुन १५ गते रिलिज गर्ने योजना निर्माण पक्षको छ ।