आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘मुकु मुकु म्या’ बोलको लोक शैलीको गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द रचना, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको संगीत रहेको छ ।
प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया लगायतलाई देख्न सकिन्छ । गीतमा नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको छ । यसअघि सार्वजनिक दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’लाई दर्शकले रुचाएका छन् ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय रहेको छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको ‘जन्ते बाख्रो’ प्रेम, कमेडी र सामाजिक कथावस्तुमा आधारित भएर बनेको फिल्म हो ।
सन्तोष गौतमको निर्माण रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ । विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि फिल्म आधारित छ ।