गत वर्षको व्यावसायिक रुपमा सफल फिल्म ‘होस्टेल ३’को टिमले नयाँ फिल्मको घोषणा गरेको छ । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै ‘बाउ भर्सेस छोरा’ शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएको हो । सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मलाई ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन् ।
फिल्म पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकरावलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक कँडेलले बताए । फिल्मको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताको सोचलाई ‘एक्स जेनेरेसन बाउ’ भर्सेस ‘जेड जेनेरेसन छोरा’ भनेर चित्रण गरिएको छ ।
नेपाली समाजमा बढ्दो पुस्तागत टकराव र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । उनका अनुसार फिल्मले केवल बाउ र छोराबीचको भौतिक दूरी मात्र नभइ सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको छ ।
‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताएको छ । फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको जनाइएको छ ।