मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिराम चौहानको निर्देशनमा ‘द ब्लू लाइट’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2025/05/20

blue light

 

बलिराम चौहानको निर्देशनमा फिल्म ‘द ब्लू लाइट’ निर्माण हुने भएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो ।

यो फिल्मलाई निर्देशन गर्न लागेका चौहान ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । निर्देशकमा रूपमा भने ‘द ब्लू लाइट’ उनको पहिलो फिल्म हुनेछ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको सह-निर्मातामा रमन ग्रे छन् ।

आर्टिफिशल इन्टेलिजन्स (एआई)को माध्यमबाट तयार पारिएको थिम पोस्टर पूरै निलो रंगमा छ । पोस्टरको बीचमा एक बालिका उभिएकी छन् । तर, उनी को हुन् भन्ने खुलाइएको छैन । बालिकाको गेटअप र अवस्था हेर्दा उनी मानसिक रुपमा विक्षिप्त रहेको अनुमान लगाउन सकिन्छ । यद्यपि, कस्तो कथामा फिल्म बन्न लागेको खुलाइएको छैन ।

फिल्मका कलाकारबारे पनि केही जानकारी गराइएको छैन । केही दिनमा कलाकारको ‘लाइनअप’ सार्वजनिक गरिने निर्देशक चौहानले बताए । उनले भनेका छन्, ‘हामी विस्तारै फिल्मबारे जानकारी दिँदै जानेछौं । मुख्य भूमिकाका लागि केही कलाकारसँग कुराकानी भैरहेको छ, फाइनल भएपछि जानकारी गराउनेछौं ।’ उनका अनुसार फिल्ममा नाम चलेका कलाकारहरु नै रहनेछन् ।

‘द ब्लू लाइट’लाई सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने समेत घोषणा गरिएको छ । फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।