मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ ६ गतेलाई ‘जनै हराएको बाहुन’को प्रदर्शन मिति तय

फिल्मीखबर, काठमाडौं, 2025/05/20

janai harayeko bahun

 

अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी भदौ ६ गते प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । यो मिति हरितालिका तीजको चार दिनअघि परेको छ ।

‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि अभिनेता बरालले मुख्य भूमिकामा अभिनय गरेको यो पहिलो फिल्म हो । हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा विजयसहित केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, भावना खपांगी मगर, रूपेश लामा लगायतले अभिनय गरेका छन् ।

सार्वजनिक पोस्टरमा भने कलाकार चिनिँदैन । सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायाँमा ठूलो घरजस्तो देखिन्छ । सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । अस्ताउँदो सूर्य र ठूलो हवाइजहाज उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोराको कथामा बनेको जनाइएको छ । गाउँदेखि सहर आएका एक व्यक्तिले भोग्नुपरेका कथा र उसको जीवनमा ल्याएको परिवर्तनको कथा फिल्मले भन्नेछ । आमा र छोराबीचको भावनात्मक कथा फिल्मले बोल्ने निर्देशक न्यौपानेले बताए । यसको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

फिल्मको छायांकन केही साताअघि सकिएर अहिले पोस्ट प्रोडक्सनमा छ । यसको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने तथा सह-निर्माता आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिल्सिना र चुडामणि सिवाकोटी हुन् । यसमा अर्जुन पोखरेल, एसडी योगी, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरूङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ ।