मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'महाभोज' को ट्रेलरले धुम मच्चायो, विदेशमा माग बढ्यो

फिल्मीखबर, काठमाडौं, 2025/05/19

दिनेश राउतद्वारा निर्देशित बहुप्रतीक्षित फिल्म 'महाभोज' को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र दर्शकमाझ यसको चर्चा शिखरमा पुगेको छ । आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यसको आधिकारिक ट्रेलरले रिलिज भएको छोटो समयमै युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा पुगेको थियो ।

यसमा प्राप्त प्रतिक्रियाहरू पनि उत्साहजनक छन् । दर्शकहरूले ट्रेलरलाई "वास्तविकताको नजिक," "मन छुने" र "समाजका शोषित वर्गको सशक्त आवाज" जस्ता विशेषणहरूले प्रशंसा गरेका छन् । ट्रेलरको बढ्दो लोकप्रियतासँगै अन्तर्राष्ट्रिय बजारमा पनि 'महाभोज' को माग तीव्र रूपमा बढेको छ । यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा प्रदर्शन हुने पक्का भएको यो चलचित्र अब बेलायत र कोरियाका दर्शकहरूले पनि हेर्न पाउने भएका छन् । निर्देशक दिनेश राउतले अन्य विभिन्न देशहरूबाट पनि चलचित्र प्रदर्शनका लागि प्रस्ताव आइरहेको जानकारी दिएका छन् ।



'महाभोज' को ट्रेलरले सहकारी संस्थामा आफ्नो जीवनभरको कमाई गुमाएका पीडितहरूको हृदयविदारक कथालाई उजागर गर्दछ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता लोकप्रिय कलाकारहरूको सशक्त अभिनय रहेको छ। ट्रेलरले सहकारी पीडितहरूको असह्य पीडा, रोजगारीमा रहेकाहरूको मानसिक तनाव र राजनीतिक क्षेत्रमा हुने षड्यन्त्रलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

हिमाल कडरियाद्वारा निर्मित यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । विकास सुवेदीद्वारा लिखित 'महाभोज' आगामी जेठ १५ गते नेपालसँगै विश्वका अन्य केही प्रमुख मुलुकहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ । ट्रेलरले सिर्जना गरेको उत्साहलाई हेर्दा, यो चलचित्र दर्शकहरूको मन जित्न सफल हुने देखिन्छ ।