डेब्यु फिल्म ‘एक्टरः टेक वन’ र दोस्रो फिल्म ‘पिताम्बर’ दुवै असफल भए पनि त्यसले अभिनेत्री दिव्या रायमाझीको करिअरलाई कुनै असर गरेको देखिँदैन । उनको हातमा एकपछि अर्को फिल्म परिरहेको छ । चाँडै फिल्म ‘माया प्रीति’मा काम गर्ने तयारीमा रहेकी उनले आइतबार नयाँ फिल्म ‘राम नाम सत्य’ सम्झौता गरेकी छन् ।
यसमा उनले दुई एक्सन अभिनेतासँग पर्दा सेयर गर्नेछन् । अभिनेताहरू विराज भट्ट र सुशील श्रेष्ठसँग उनी फिल्ममा एकसाथ देखिने भएकी हुन् । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्ममा विराज र सुशील यसअघि नै अनुबन्ध भइसकेका छन् ।
फिल्म साइन गरेपछि दिव्याले भनेकी छन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्यो । जसकारण, फिल्ममा काम गर्न तयार भएँ ।’ विराज र सुशीलसँग काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ ।
केही महिनाअघि निर्माण घोषणा गरिएको ‘राम नाम सत्य’ छायांकन आगामी साउनबाट सुरू गर्ने तयारी छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको कथा निर्देशक माइकल चन्दले नै लेखेका छन् ।
फिल्मको निर्मातामा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरूङ छन् भने कार्यकारी निर्मातामा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह रहनेछन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्मलाई सुशन प्रजापतिले छायांकन गर्नेछन् । एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा फिल्म निर्माण हुने जनाइएको छ ।