यही जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’को शुक्रबार दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक गरिएको छ । स्वरुपराज आचार्यको स्वर तथा मुक्त उदासको शब्द रचना रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।
बाबु-छोरीबीचको प्रेमभावलाई प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता राजेश हमाल, अभिनेत्री नीति शाह र बाल–कलाकार एल्भिना खड्का चित्रित छन् । भिडियो हेर्दा फिल्ममा हमाल एकल बाबुको भूमिकामा रहेको बुझ्न सकिन्छ । उनी नीतिलाई सम्झिएर भावुक देखिएका छन् । छोरीले भने आफूलाई समय नदिएको भन्दै बाबुसँग गुनासो गरेकी छन् ।
दीवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राज कटुवाल, सुनिशा भट्टराई, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतको पनि अभिनय छ । यो फिल्मबाट हमालले ८ वर्षपछि कमब्याक गरेका हुन् । यसैले फिल्मलाई लिएर दर्शक उत्साहित देखिएका छन्, जुन ट्रेलरलाई प्राप्त भ्यूज र प्रतिक्रियाले पनि दर्शाउँछ ।
नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी रहेको फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको द्वन्द्व, रामजी लामिछानेको नृत्य निर्देशन, राजु थापाको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।