गत बैशाख २६ गतेबाट प्रदर्शन भएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को नेपालमा व्यापारिक आँकडा निराशाजनक भए पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । यसैले यतिबेला विदेशमा फिल्मको माग बढेको छ । भारतमा गत हप्ताबाटै प्रदर्शनमा आएको यो फिल्मको बिहीबारबाट मध्यपूर्वका देश र शुक्रबारबाट अमेरिकासहितका देशहरुमा प्रदर्शन सुरु भएको छ ।
निर्माण कम्पनी फेरि टेल पिक्चर्सले संयुक्त अरब इमिरेट्स (युएई), कतार र बहराइनमा बिहीबारबाट फिल्म प्रदर्शनमा आएको जनाएको छ । शुक्रबारबाट यूएसए, यूके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशमा प्रदर्शन आरम्भ भएको निर्देशक फुर्वाछिरिङ लामाले जानकारी दिए । अन्य केही देशमा पनि फिल्म प्रदर्शनका लागि छलफल भैरहेको उनको भनाइ छ ।
‘नेपाल र भारतमा हाम्रो फिल्म हेर्ने जति पनि दर्शक हुनुहुन्छ, उहाँहरु र समीक्षकहरुबाट प्राप्त प्रतिक्रियाले हामी एकदमै उत्साहित छौँ,’ निर्देशक लामाले भने, ‘डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरुबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ ।’ उनका अनुसार भारतको सिक्किम, सिलिगुडीजस्ता सहरमा फिल्म हेर्ने नेपाली भाषी दर्शकको उपस्थिति उत्साहजनक रहेको छ ।
साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित ‘जार : भएकै एउटा कथा’मा आधारित फिल्मले दुई सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ । यसमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका छ । सरवानन इलावार्सुको डीओपी रहेको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।