
यतिबेला घरेलु बक्स अफिसमा फिल्म ‘ऊनको स्वीटर’ले आफ्नो दबदबा कायम गरेको छ । पहिलो साता उत्साहप्रद व्यापार गरेको फिल्मप्रति दर्शकको आकर्षण बढ्दो क्रममा रहेकाले दोस्रो साताका लागि हलहरुले उल्लेख्य शो बाँडेका छन् । तर, अब भने फिल्मलाई चुनौती थपिएको छ । किनकि, शुक्रबारबाट नयाँ फिल्म ‘के घर के डेरा: घर नं २’ प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएको छ ।
पहिलो हप्ताको उत्साहजनक प्रदर्शनका कारण ‘ऊनको स्वीटर’ले ठूलो शो संख्या ‘होल्ड’ गरेको भए पनि ‘के घर के डेरा २’लाई पर्याप्त शो मिलेको छ । फिल्मलाई देशव्यापी डेढ सय बढी शो उपलब्ध छ । तर, फिल्मको बुकिङ भने निकै कमजोर देखिन्छ । बिहानी शोमा अकुपेन्सी पनि राम्रो छैन । अब दर्शकहरुबाट प्राप्त हुने ‘वर्ड अफ माउथ’मा फिल्मको व्यापारिक भविष्य निर्भर छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा फिल्मको ‘पब्लिक प्रिमियर’ गरिएको थियो । सडक, मल, बजार जस्ता सार्वजनिक स्थानमा भेटिएका दर्शकलाई प्रिमियरमा सहभागी गराइएको थियो । नेपाली फिल्मको प्रिमियर दर्शकका लागि आयोजना गरिएको यो नै पहिलोपटक हो । प्रिमियरमा दर्शकबाट फिल्मलाई सुखद् प्रतिक्रिया मिलेपछि निर्माण टिममा थप आत्मविश्वास पलाएको छ ।
दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे लगायतको अभिनय छ । कृष्णबहादुर थापाको डीओपी रहेको फिल्मको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । काठमाडौंमा घर हुने र भाडामा बस्नेहरूको संघर्षको कथामा आधारित भएर फिल्म बनेको हो ।

