मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा २’को गीतबाट संगीत निर्देशक बने निश्चल

फिल्मीखबर, काठमाडौं, 2025/05/15

Nischal Basnet

 

निर्देशक निश्चल बस्नेतको परिचयको आयाम फराकिलो छ । निर्देशनसँगै अभिनय र गायनमा पनि आफूलाई प्रमाणित गरिसकेका उनले अब संगीतकारको रुपमा अर्को परिचय थपेका छन् । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘के घर के डेरा: घर नं २’को ‘ढुङ्गा देउता भयो’ बोलको गीतमार्फत् उनले संगीत निर्देशनमा डेब्यु गरेका हुन् । यो गीत बिहीबार सार्वजनिक गरिएको छ ।

गीतमा उपन्यासकार बुद्धिसागरको शब्द रचना छ । उनले फिल्मका लागि लेखेको यो पहिलो गीत हो । फिल्ममा पनि उनी स्वयंको लेखन छ । सलिन मगरले गीतमा स्वर दिएकी छन् । गीत सार्वजनिकपछि निश्चलले फेसबुकमा लेखेका छन्, ‘संगीतकारको रुपमा मेरो पहिलो प्रयास कस्तो लाग्यो भनिदिनुहोला । बुद्धिसागर दाईको शब्दहरु सुनेपछि आफैं संगीत भर्न मन लाग्यो र कोसिस गरें ।’

फिल्ममा कथावाचनको रुपमा समावेश गरिएको उक्त गीतको भाव अर्थपूर्ण छ । संघर्ष र चोटहरुले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रुपमा ढुङ्गा र देउतालाई ल्याइएको छ । काव्यात्मक गीतले जीवन जिउने आधार नै सपना रहेको यथार्थलाई उजागर गर्छ । भिडियोमा प्रमुख कलाकारहरू केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र उपन्यासकार बुद्धिसागरलाई देख्न सकिन्छ ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्ममा केकी, निश्चल र खगेन्द्रसहित आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली लगायतको अभिनय छ । कृष्णबहादुर थापाको डीओपी रहेको फिल्मको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । काठमाडौंमा घर हुने र भाडामा बस्नेहरूको संघर्षको कथामा आधारित भएर फिल्म बनेको हो ।