नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डमा पार्टी निकट फिल्मकर्मीलाई धमाधम नियुक्त गरिरहेको छ । गत भदौमा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका पूर्वअध्यक्ष दिनेश डिसीलाई अध्यक्षमा नियुक्त गरेको सरकारले रिक्त रहेको सदस्य पदमा पनि पार्टी निकटका व्यक्तिहरुलाई नै अवसर दिएको छ ।
गत चैतमा ‘शुभ लभ’का निर्देशक सन्तोष बाबु लोहनी एमालेको कोटाबाट बोर्ड सदस्यमा नियुक्त भएका थिए । अब अर्को सदस्य पदमा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य तथा छायाँकार विरेन्द्र भट्टलाई नियुक्त गरिएको छ । बोर्डको तालुकवाला निकाय सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत् उनलाई बिहीबार सदस्य पदमा नियुक्त गरेको हो ।
डेढ दशकदेखि छायाँकारको रुपमा काम गर्दै आइरहेका भट्टले ‘धून’, आरोप’ जस्ता फिल्मसहित तीन दर्जन बढी म्यूजिक भिडियो खिचेका छन् । अब दुई वर्ष उनी बोर्ड सदस्यको रुपमा रहनेछन् । उनको नियुक्तिसँगै बोर्डमा अध्यक्षसहित तीनजना एमालेबाट भएका छन् । अब नियुक्त हुन बाँकी एकजना सदस्य भने सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट हुने सम्भावना प्रवल छ ।