गत फागुनमा प्रदर्शन भएको ‘अञ्जिला’पछि शिथिल बनेको घरेलु बक्स अफिस अघिल्लो हप्ता (बैशाख २६ गते) प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले चलायमान बनाएको छ । सन्तोषजनक ओपनिङ गरेको फिल्मलाई दोस्रो हप्ताको सम्मुखसम्म दर्शकको उच्च साथ मिलेको छ । कामकाजी दिनमा समेत फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ ।
बुधबार प्रदर्शनयता एकैदिनमा सबैभन्दा धेरै दर्शकले फिल्म हेरेको वितरक गोविन्द शाहीले दाबी गरेका छन् । उक्त दिन आधा मूल्यमा टिकट पाइने भएकाले पनि फिल्मलाई उपलब्ध लगभग ६० प्रतिशत हाउसफुल भएका थिए । पूर्वका धरान, इटहरी, विराटनगर जस्ता सहरका हलमा टिकट नै हाहाकार भएको थियो । बिहीबार पनि फिल्मको देशभर राम्रो अकुपेन्सी देखिएको छ ।
‘ऊनको स्वीटर’प्रति दर्शकको आकर्षण हेर्दा यो नै यस वर्षको पहिलो हिट फिल्म बन्ने देखिन्छ । यद्यपि, यसका लागि फिल्मले अझै हलमा लामो यात्रा गर्नुपर्नेछ । किनकि, फिल्मको लगानी उठ्न मात्र ६ करोडमाथिको व्यापार आवश्यक छ । बुधबारसम्म फिल्मले ३ करोडमाथि कमाएको जनाइएको छ । पहिलो हप्ताजस्तै व्यापारिक रफ्तार रहेमा अब ३ करोड जोड्न फिल्मलाई मुस्किल छैन ।
फिल्मले उत्साहप्रद व्यापार गरेपछि अब फिल्मको टिमले दोस्रो हप्ताबाट देशव्यापी भ्रमण सुरु गर्ने भएको छ । निर्देशक चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा उनीसहित कलाकारहरू विपिन कार्की, परीक्षा लिम्बू, एलेक्स पारस र गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।